७३ वर्षीया हजुर आमाले दिइन १२ कक्षाको परीक्षा
काठमाडौं,२१ बैशाख। आजबाट सुरु कक्षा १२ को परीक्षामा ७३ वर्षीया हजुर आमा पनि सहभागी भएकी छन्।काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ बर्षीया सूर्यवती खनालले परीक्षा दिएकी हुन्। उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।

प्रवेशपत्रमा उनको जन्म वि.सं. २००९ साउन ९ गते उल्लेख छ । उनी चार छोराछोरीका आमा तथा तीन नातिनातिनाका हजुरआमा हुन् ।
खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित अध्ययन अगाडि बढाएकी थिइन् । उनले एसईई परीक्षा गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उतीर्ण गरेकी थिइन् । उनका श्रीमान् विद्यालयका शिक्षक हुन् ।
उता,भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो ।
काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको पुगेको भन्दै सार्वजनिक भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली अनुगमनमा गएको हो ।
छानबिनका क्रममा टोलीले पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरूले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो । त्यसपछि प्रश्न पत्र बाहिरको भन्ने विषयमा चर्चामा आएको हो।
त्यसपछि कलेजको परीक्षार्थीको मोबाइल जफत गरेर चेकअप गरेको थियो । मोबाइल चेकअपको क्रममा पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको बोर्डले जनाएको छ।

