सोलुखुम्बुको गौरीटापमा ‘स्पार्क एड्भेञ्चर,२०२५’आयोजना हुने



काठमाडौँ,१९ बैशाख। सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमामा पर्ने गौरीटापमा स्पार्क एड्भेञ्चर,२०२५ आयोजना हुने भएको छ।

यात्रुहरुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले‘गेट वे टु एभरेष्ट’थिममा यही वैशाख २६ देखि २८ गतेसम्म आयोजना गर्ने तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।

दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो उनले बताए। घिमिरेका अनुसार सहभागीहरुले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नेछन।

सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य मानिने गौरीटाप काठमाडौँबाट २३० किलोमिटरको दूरीमा पर्छ।

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइने गौरीटाप धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर,शिव पञ्चायन मन्दिर छ ।

सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको गौरीटाप क्षेत्रका संरक्षण एवम् प्रवर्द्धन अभियन्ता लौरेश्वर बाबाले बताए । “माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुंगामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उनले भने ।
स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मी तथा पत्रकारलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्