चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्बोच्चका अधिकृत बिष्ट पक्राउ
काठमाडौं,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालत श्रोतले जनाएको छ।अदालतको रिट तथा मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले चौधरीलाई कारागारमा राख्नु भन्दै डिल्लीबजार कारागारलाई पत्र लेखेका थिए ।
विष्टले बुधवार एक पत्र लेख्दै कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए ।उक्त पत्रका आधारमा प्रहरीले जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा रेशमलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता नै भाँडिएको छ ।

