फोहोर ब्यबस्थापनमा उदाहरणीय काम गर्दै सोलुदुधकुण्ड



 

 

सोलुखुम्बु,१६ बैशाख।जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुण्डले वातावरणीय स्वच्छताका लागि आधुनिक ढंगबाट फोहोर ब्यबस्थापन प्रक्रिया अघि बढाएर उदाहरणीय काम गरिरहेको छ।

नगरपालिकाको वातावरणीय कार्यक्रम अन्तरगत वडा नं ७ को गार्मामा फोहोरमैला प्रशोधन केन्द्रको स्थापना गरी नगर क्षेत्र भित्रको फोहोरलाई छुट्याएर आवश्यकता अनुसार प्रशोधन गर्ने कार्यक्रम गर्न थालेपछि नगर क्षेत्र फोहोरको दुर्गन्धबाट मुक्त भएको स्थानीयको भनाई छ।

नगर क्षेत्रको फोहोर संकलन,ब्यबस्थापनका लागि नगरपालिकाले गार्मामा झण्डै १९ रोपनी जग्गा खरिद गरेर संरचना निर्माण गरेको छ । पर्खालले घेरिएको सो क्षेत्रमा संकलित फोहोर ब्यबस्थापनका लागि ट्रष्ट निर्माण गरिनुका साथै प्रशोधन उपकरणहरु राखिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।

संकलित फोहोरबाट प्लास्टिक,फलाम,बोतल,कागज,ट्युब,टायरको वर्गीकरण गरी छुट्टाछुट्टै राखिने र त्यसलाई जिल्ला बाहिर रिसाईक्लिङ सेण्टरमा पठाउने गरिएको वहाँले जानकारी दिनुभयो।त्यसका लागि सरसफाइ कर्मचारी बाहेक छुट्टै चार जना कर्मचारीले काम गरिरहेका छन् ।

फाप्लु तथा सल्लेरी बजार क्षेत्रका टोलटोलबाट नियमित रूपमा फोहोर संकलन हुने गरेको नगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले जनाएको छ ।त्यसका लागि छुट्टै सफाइ कर्मचारी राखिएको छ । उनीहरूद्वारा संकलित फोहोर ट्रीपरले केन्द्रमा पुर्‍याएपछि प्रशोधनको काम हुने गरेको नगरप्रमुख शेर्पाको भनाई छ।

यस पटकबाट भने नगरपालिका भित्रका क्याम्पस तथा विद्यालयका विद्यार्थीहरुलाई वातावरणीय सचेतना कक्षा सञ्चालन गरिनुका साथै आफ्नो शिक्षालय क्षेत्र भित्रको फोहोर मैंला आफैं संकलन गर्नका लागि परिचालित गर्ने तयारी छ । त्यससंगै हरियाली नगर निर्माणका लागि बृक्षारोपण कार्यलाई समेत अगाडी बढाउन नगरपालिकाले सोलु च्याम नामक संस्थासंग ५० हजार डलरको सम्झौता गरेको नगरप्रमुख शेर्पाले बताउनुभयो।

कम्पाउण्डसहित निर्माण गरिएको फोहोर मैंला प्रवेश केन्द्र

 

प्रतिक्रिया दिनुहोस्