कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं,१४ बैशाख। नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो। उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ।राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन्।राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो।

उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन्। पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन्। आजै सांसद राई पक्राउ परेको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको थियो।

सांसद पक्राउ परेपछि संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा छ। कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ।

प्रतिक्रिया दिनुहोस्