आज १९ औं लोकतन्त्र दिवस, नेकपा एमालेले काठमाडौंमा एक लाख युवा उतार्ने



काठमाडौं,११ बैशाख।आज लोकतन्त्र स्थापना भएको १८ औँ बर्ष्पूरा भएको छ ।१९ औं लोकतन्त्र दिवसका अवसरमा आज प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम आयोजना गरिंदैछ। ।

भारतको राजधानी नयाँ दिल्लीमा २०६२ मंसिर ५ गते भएको बार्‍ह बुँदे समझदारीको मार्गचित्र अनुसार तत्कालीन सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा राजा ज्ञानेन्द्रले विसं २०६३ वैशाख ११ गते विघठित प्रतिनिधिसभा पुनस्थापना गरेको स्मरण गर्दै लोकतन्त्र दिवस मनाउने गरिएको हो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा विसं २०५९ जेठ ८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधि सभा विघटन गरि मध्यावधि निर्बाचनको घोषणा गरेका थिए।द्वन्द्वको कारण देखाउंदै सरकारले घोषित मितिमा निर्बाचन गर्न नसक्ने भन्दै मिति सार्न आग्रह गरेपछि निर्बाचन गराउने प्रयोजनका लागि देउवा नेतृत्वको सरकारलाई बर्खास्त गरि राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएका थिए।

राजाको सो कदमबिरुद्ध दिल्ली समझदारी अनुसार भएको आन्दोलनको बलमा बैशाख ११ गतेको घोषणामार्फत शाहले विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरेका थिए।

त्यसयता दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

लोकतन्त्र दिवसकै अवसरमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आज काठमाडौंको भृकुटीमण्डपमा युथ सेलिब्रेशन आयोजना गर्दैछ ।संघका अध्यक्ष क्षितिज थेवेका अनुसार युथ सेलिब्रेशनका अवसरमा देशब्गरबाट एक लाख युवा उतारिंदै छ ।

कार्यक्रमका बारेमा जानकारी दिन युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थेवेले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताउनुभयो । उहाँले नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको बताउनुभयो । घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उहाँको भनाइ छ ।

अध्यक्ष थेवेले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गर्नुभयो । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुनसक्ने दाबी गर्नुभयो । उहाँले नेपाली जनताले जितेर लोकतन्त्र प्राप्ति गरेको दिनलाई युवाहरुले उत्सवको रुपमा मनाउन लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्