आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन शिक्षकहरुलाई बर्तौलाको आग्रह
काठमाडौं,बैशाख । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरेका छन्।

प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुखले गरेको छलफलपछि बर्तौलाले बजेट अधिवेशनबाट शिक्षकका माग पूरा हुने गरी विधेयक पारित गरिने बताउँदै उनले सो आग्रह गरेका हुन्।‘शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ। हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनुपर्ने अवस्था छ र त्यस आधारबाट हेर्ने हो भने उहाँहरूले नियमित शैक्षिक गतिविधिहरूमा जोडिएर अहिलेको विधायकी काम जो विधेयक निर्माणको आवश्यक यसको अंग पूरा गर्न समय दिनुपर्यो,’ बर्तौलाले भने।
संसद् अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई रोकेर भए पनि शिक्षा विधेयक पारित गर्ने उनले बताए।शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसद्मा आउन वैशाखको अन्तिम सातासम्म लाग्न सक्ने उनको भनाई छ।

