ट्र्याक्टर दुर्घटना हुँदा कालिकोटमा ४ र बोलेरो दुर्घटनामा ताप्लेजुङमा ४ जनाको मृत्यु
काठमाडौं, ८ बैशाख । कालीकोटको पलाँता गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ।

थिर्पुबाट छलतर्फ खाद्यान्न र खुद्रा सामान बोकेर जाँदै गरेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडामा दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमै चार जनाको मृत्यु भएको छ। मृतकमध्ये ट्र्याक्टर चालक २५ वर्षीय चन्द्र प्रकाश रोकाया मुगु, खत्याड–५, २१ वर्षीय रवीन्द्र विक, ३२ वर्षीया सदु बुढा पलाँता–४ , र २५/२६ वर्षीया अम्बा शाही पलाँता–५ सल्लीकोट रहेका छन्।
प्रहरीका अनुसार ट्र्याक्टर अप्ठ्यारो भिरमा अड्किएको थियो भने शवहरू करिब २०० मिटर तल भेटिएका थिए। दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा टोली राति नै घटनास्थल पुगेको थियो।
उता ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सडकमा झरेको बिजुलीको तारले मे १ ज ३०११ नम्बरको बोलेरोमा करेन्ट लागेर आगलागी भएको हो ।
घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका १० वर्षीय छोरा भविमय आचार्यको अवस्था मध्यम रहेको छ । दुवैलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिएका छन् ।

