जगमान गुरुङको दावी- ‘जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ’



काठमाडौं, ६ बैशाख । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? गणतन्त्र दिवस मनाउँछन् नि। यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’ उनले भने।

उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको उल्लेख पनि गरेका हुन्।

‘९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन्। पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ,’ गुरुङले भने, ‘असम्भव छैन।’

कार्यक्रममा समितिका प्रबक्ता स्वागत नेपालले दास र रैती भनेका दलका कार्यकर्ता भएको बताए। म प्रमाणित गर्छु–दास भनेको विद्या भण्डारी हो। दास भनेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन हो,’ नेपालले भने, ‘दलको दास भएर राष्ट्रपति भइसकेपछि पनि दलकै दास हुन जानुभयो र पार्टीको कार्यकर्ता हुन जानुभयो। उपराष्ट्रपति भइसकेर पनि दलकै रैती हुनुभयो।’ 

देशलाई राष्ट्रप्रमुख कुनै पनि दलको सदस्य नहुने पात्र चाहिएको उनले बताए। ‘जो दलको रैती हुँदैन, दलको दास हुँदैन त्यस्तो राष्ट्रप्रमुख देशलाई चाहिएको छ, दलको रैती नबनेर सम्पूर्ण देशको साझा व्यक्ति चाहिएको छ,’ उनले भने,‘यी रैती र दासबाट मुक्ति गर्न राजसंस्था चाहिएको छ।’ 

प्रतिक्रिया दिनुहोस्