मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : ज्ञवाली
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको दावी गरेका छन् ।

नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन्।स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न बैठकका प्रमुख अतिथि ज्ञवालीले अहिले पनि मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरू भइरहेका र राजवादीको नाममा काठमाडौंमा गराइएको घटना त्यसकै उदाहरण भएको बताए।
उपमहासचिव ज्ञवालीले भने-अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्समा गएको उद्घोष गर्नुभयो,तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले।मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने उनको भनाई थियो। अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उहाँको धारणा छ ।
बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको बताउनुभयो । त्यसैलाई दृष्टिगत गरी नेकपा (एमाले)ले युवा केन्द्रित अभियान सुरु गरेको र पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उहाँले जानकारी गराउनुभयो । पार्टीले यस वर्षको स्थापना दिवसको अवसरमा युवा उत्सव गर्न लागेको उहाँले बताउनुभयो ।
संयोजक ढकालले बैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसङ्गठनलाई आग्रह गर्नुभयो । यसमा युवाको ऐतिहासिक सहभागिता हुने गरी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम,पोलिटब्युरो,केन्द्रीय कमिटीका नेताहरू तथा जनसङ्गठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।
file foto

