अग्रज मुक्तककारहरूको मुक्तकवाचन तथा संयुक्त मुक्तक कृति लोकार्पण सम्पन्न
काठमाडौं।हामी र हाम्रो कृति समाजले अग्रज मुक्तककारहरूको मुक्तकवाचन कार्यक्रम तथा संयुक्त मुक्तक कृति लोकार्पण सम्पन्न गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभा हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शनिबार ‘हामी र हाम्रो कृति समाज’द्वारा प्रकाशित २० औँ कृति,१११ जना स्रष्टाका १३३२ मुक्तक संग्रहित हामी र हाम्रो मुक्तक संग्रहको लोकार्पण गरिएको हो।
हामी र हाम्रो कृति समाजका संस्थापक अध्यक्ष मदन नेपालको सभापतित्वमा सुरु भएर दुई खण्डमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा पहिलो खण्डमा पुस्तकको लोकार्पण भएको थियो भने दोस्रो खण्डमा नौ जना अग्रज मुक्तककारहरुले मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो खण्डको कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार उषा शेरचनले गर्नुभएको थियो । ‘अग्रजलाई सम्मान हाम्रो अभियान’ शृङ्खला अन्तर्गत हामी र हाम्रो कृति समाजले एउटै मञ्चमा नौ जना वरिष्ठ अग्रज साहित्यकारहरूलाई प्रस्तुत गरेको थियो ।
उक्त वाचन कार्यक्रममा अग्रज साहित्यकारहरु उषा शेरचन, ज्ञानुवाकर पौडेल, रामकाजी काेने, राधेश्याम लेकाली, यादव भट्टराई, रमेश पाैडेल, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुँगेल, डा. गाेपाल पाैड्याल मण्डनेज्यूहरूलाई मञ्चमा प्रस्तुत गरिएको थियो ।
पुस्तकको लोकार्पण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुपाल राईले हामी र हाम्रो कृति समाजले अहिलेसम्म गरेका कार्यहरूको बारेमा धन्यवाद प्रकट प्रकट गर्दै आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाली साहित्यको जगेर्ना गर्ने र प्रतिभाहरूको उजागर गर्ने सराहनीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
उहाँले हामी र हाम्रो कृति समाज मोफसलमा रहेका स्रष्टाहरूको समेत अभिभावक भएर उहाँहरूका कृति प्रकाशन गरिरहेकोमा आफू गौरवान्वित भएको कुरा बताउनुभएको थियो ।
कार्यक्रममा सुभद्रा अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीले कार्यक्रमकोबारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले शुभकामना मन्तव्य राख्दै हामी र हाम्रो कृति समाजले गरेको कार्य निकै प्रशंसनीय रहेको बताउनु भएको थियो ।करिब ३ घण्टा चलेको उक्त कार्यक्रममा अग्रज श्रष्टाहरूले दुई चरण गरेर आफ्ना १२-१२ वटा मुक्तक वाचन गर्नुभएको थियो ।
विभिन्न संस्थाका अध्यक्ष गीतकार मुक्तककार गजलकार सहित करिब १५० जनाको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन
कार्यक्रम हामी र हाम्रा कृति समाजका सदस्य नवराज नवशिलाले गर्नुभएको थियो ।
हामी र हाम्रो कृति समाजले साधारण सदस्यहरूबाट सदस्यता शुल्क बापत उठाएको रकमले यो कार्यक्रम गर्न सम्भव भएको भन्दै संस्थाका अध्यक्ष मदन नेपालले सम्पूर्ण स्रष्टाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

