माघ २२ गतेदेखि सुरु हुने एचपीभी खोप अभियानको तयारी पूरा
काठमाडौँ । विश्व क्यान्सर दिवसको अवसर पारेर माघ २२ गतेदेखि सुरु गरिने एचपीभी खोप अभियानको तयारी पूरा भएको छ ।

दुई साता सन्चालन भएर फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने पाठेघरको मुखको क्यान्सरविरूद्धको सो अभियानको तयारी पूरा भएको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचपीभी खोप अभियानको सद्भावना दूतमा कलाकार मनिषा कोइराला नियुक्त गरेको छ।
यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरी अनुमान गरिएको छ । यो अभियानको लागि १७ लाख ७० हजार २० मात्रा एचपीभी खोप देशभर लगाइने छ ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ ।

