प्रधानमन्त्री ओलीको चीन भ्रमण : कुन कुन विषयमा भयो सहमति ?



काठमाडौँ । नेपाल र चीनबीच विभिन्न विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणको क्रममा मंगलबार(आज) नेपाल–चीनबीच ९ वटा सहमति र समझदारी भएको हो । मङ्गलबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दुई देशबिच भैँसीको तयारी मासु निर्यात, व्यापार अभिवृद्धि, बसन्तपुर दरबार पुनर्निर्माण, आर्थिक तथा प्राविधिक सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्रमा हस्तक्षर भएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपालबाट भैँसीको मासु आयात गर्ने समझदारी गरेको थियो । नेपालले सबै मापदण्ड पूरा गरेपछि अब चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने भएको हो ।

त्यस्तै, टोखा छहरे सुरुङमार्ग निर्माण, नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्बन्धी सम्झौता पनि भएको छ । २०७२ सालको भूकम्पमा भत्किएको वसन्तपुरको नौतले दरबारको पुनर्संरचना गरेको चीनले नेपाललाई हस्तान्तरण गरिसकेको छ । त्यसको प्रमाणपत्र पनि अदानप्रदान गरिएको छ ।

नेपालका विभिन्न विद्यालयमा चिनियाँ शिक्षक स्वंयसेवीले चिनियाँ भाषा पढाउने विषयमा पनि दुई देशबिच समझदारी भएको छ । आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनुको साथै नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच (सीएमजी)बिच सञ्चार प्रविधिबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्