बेल्जियममा यौनकर्मीलाई अन्य कर्मचारीसरह रोजगारी र सुरक्षा दिइने



काठमाडौँ । बेल्जियम यौनकर्मी महिलालाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बनेको छ । नयाँ कानुन बनेपछि अब बेल्जियममा यौनकर्मीले स्वास्थ्य बिमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् ।

बीबीसीका अनुसार, डिसेम्बर १ देखि लागु भएको यस कानुनमा यौनकर्मीलाई अन्य कर्मचारीसरह रोजगारी र सुरक्षा दिने प्रयास गरिएको छ ।

सन् २०२२ मा बेल्जियममा यौन कार्यलाई अपराधमुक्त घोषित गरिएको थियो । त्यसबेलादेखि देशमा यौनकर्मीलाई पनि सुरक्षा, रोजगारी, स्वास्थ्यलगायत अधिकार दिन माग हुँदै आएको थियो ।

बेल्जियमको नयाँ कानुनअनुसार, अब यौनकर्मीलाई यौन सम्पर्क गर्न अस्वीकार गरेमा तथा बिदा लिएको अवस्थामा कामबाट निकाल्न पाइने छैन ।

मानव अधिकारकर्मीले नयाँ कानुनको प्रशंसा गरेका छन् । ह्युमन राइट्स वाचका एरिन किल्ब्राइडले क्रान्तिकारी कदम भनेकी छन् । यौनकर्मीको सुरक्षाका लागि बेल्जियमले विश्वकै उत्तम कदम लिएको उनको भनाइ छ ।

नयाँ कानुनअनुसार यौनकर्मीले रोजगारी सम्झौता पाउनेछन् । यसबाहेक काम गर्ने घण्टा र कार्यस्थल सुरक्षासँग सम्बन्धित नियमहरू पालना गर्नुपर्नेछ । यौन क्रियाकलाप हुने प्रत्येक कोठा सफा र सुरक्षित हुनुपर्छ ।

मानव बेचबिखन, यौन दुर्व्यवहार, ठगीजस्ता मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई यौनकर्मी राख्न दिइने छैन ।

बेल्जियममा अब यौनकर्मीलाई कामबाट निकाल्न पाइने छैन । यौनकर्मीले कुनै सूचना नै नदिएर आफूले चाहेको बेला राजीनामा दिन सक्छन् । उनीहरूले ग्राहकलाई अस्वीकार पनि गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्