उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न
काठमाडौँ।स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो। यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्।
आज रातीवाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पुर्ब जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन ।

