सामाजिक सञ्जालबाट द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरे कारबाही गर्ने गृहको चेतावनी



काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीद्वारा शुक्रबार
जारी प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउंँदै जोकोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनी रुपमा निषेधित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने चेतावनी दिईएको छ।

विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिलाई निरूत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको मन्त्रालयले स्मरण गराएको छ ।

साथै मुलुकले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति मन्त्रालय सदैव सचेत रही उच्च सम्मान गर्दै आएको तथा संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि मन्त्रालय क्रियाशील र प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्