राजनीति गर्न चाहनेले बुझ्नै पर्ने महत्वपूर्ण एउटा तथ्य
- बाबुराम आचार्य

राज्य सञ्चालन र प्रशासनसंग सम्बन्धित एक उत्कृष्ट सामाजिक सिद्धान्त हो राजनीति।त्यसैले यसलाई नीतिहरुको राजा पनि भनिन्छ।त्यस कारण राजनीतिमा सक्रिय ब्यक्तिहरुको समाजमा छुट्टै बिशेष महत्व हुन्छ।

तपाई यदि राजनीतिमा सक्रिय हुनुहुन्छ भने याे वुझ्न जरुरी छ कि समाजले विभिन्न प्रकारले राजनीतिक ब्यक्तिको हरेक सन्दर्भमा परीक्षा लिईरहेको हुन्छ। सार्बजनिक ओहोदामा रहेका राजनीतिक ब्यक्तिमाथि लिइने यस किसिमका परीक्षाले कसैलाई समाजमा स्थापित गराउँछ भने कसैलाई विस्थापित ।
पदमा रहँदा केन्द्रदेखि गाउँसम्मका सवै नेता कार्यकर्ताको क्षमता र दक्षता समाजले हेरिरहेको हुन्छ ।नेताहरू राजकीय जिम्मेवारी रहँदा या नरहदा निश्चित पदमै हुन्छन्,त्याे पद समाजरुपी संरचनाको सामाजिक पद हाे ।त्यस कारण पनि समाजमा देखिने हर संकट या परिवर्तन,विकास र संमृद्विका लागि उठ्ने आवाज हुन। यिनिहरुको बस्तुपरक सम्बोधन गर्ने सामर्थ्य जस्ले राख्न सक्छ,त्यो ब्यक्ति नेता बन्ने हो भन्ने कुरामा दुई मत छैन ।
नेता वा कार्यकर्ताकाे परीक्षा सत्ता संकट वा कुनै असहज परिस्थितिमा हुन्छ । अरु बेला चिच्याई चिच्याई ठुलठुला भाषण गर्ने ब्यक्ति संकटको बेला कति धैर्यतापूर्बक ईमानदार भएर काम गरिरहेको छ? समाजले सूक्ष्म मूल्यांकन गरिरहेको हुन्छ। संकटका बेला बेला बहानाबाजी गर्ने र भाग्ने,गलेर थाक्ने,हरेस खाने,कर्तब्य भुलेर आफ्नो ब्यक्तिगत काम र स्वार्थमा ब्यस्त रहने ब्यक्ति कहिल्यै पनि नेता हुन सक्दैन। नेता ले म आफू कुन पदमा छु र कत्तिको ईमानदार भएर काम गरिरहेकाे छु ? आत्म मूल्यांकन गर्दै अगाडि वढ्नुपर्छ । समाजमा प्रत्येक दिन केहि न केही कार्यक्रम ,परिवर्तन,सिकाईहरु भईरहन्छन ।नेतृत्वमा स्थापित हुन चाहने ब्यक्तिले यसस्ता घट्नाक्रमहरुमा अग्रस्थानमा उभिन सक्नुपर्छ।
समाजमा राजनीतिप्रति चासाे राख्ने र सक्रिय राजनीति गर्ने हजारौं हुन्छन् तर सवै सफल हुन्छन् भन्न सकिन्न । थोरै मात्र ब्यक्तिहरु राजनीतिमा निरन्तर क्रियाशील रहन्छन् भने धेरैले केही न केही कारणबाट वाटाे फेर्छन । सक्रिय विद्यार्थी राजनीतिमा याे कुरा वढी लागू हुने गर्छ । अहिले पुर्णकालीन विद्यार्थी राजनीतिमा रहेका हजारौं नेताहरुमध्ये सयकाे हाराहारीमात्र पछिसम्म टिकिरहन्छन , अरु विभिन्न कारणले वाहिरिन्छन । तर जाे स्कुल,कलेज वा समाजमा स्थापित सफल कार्यकर्ता वन्छ, त्याे देशका लागि आवश्यक र सफल नेता वन्नेछ । जसरी शिक्षाको पहिलो पाठशाला घर हाे त्यसरी नै सफल राजनीतिका लागि स्कुल,कलेज वा समाज । त्यसैले नेता हुने ब्यक्तिले स्कुल,कलेज वा समाजमा स्थापित हुनैपर्छ ।
राजनीतिकाे प्रारम्भ न कुनै एक ठाउँवाट हुन्छ न एक ठाउँमा सिमित रहन्छ । अनेक आस्था ,विचार ,लक्ष्य ,वाटा गन्तव्य र अनेकन विश्वासवाट राजनीतिकाे जन्म हुन्छ र अनेकौं घट्नाक्रमवाट विकसित हुन्छ । राजनीति विवाहकाे साईत जस्तो साईत हेरेर या याेजना वनाएर प्रारम्भ हुने विषय हाेईन । याे त समय परिस्थिति अवस्था र घटना विशेषकाे पछाडि गाँसिएरआउँछ । त्यसपछि ब्यक्तिको क्षमता,निरन्तरता,निष्ठा,ईमानदारिता र लगनशीलताले उसलाई सफल वनाउँने हो । जाे राजनीतिमा असफल हुन्छ सुरुवातमै उसले आफु अनुकूलकाे परिभाषा दिन्छ र राजनीति लाई घृणामात्र गर्दछ । काेहि सुख खाेज्छन त काेहि राजनीतिक पद र प्रतिष्ठाकाे चरम दुरुपयोग गरि गाेजी भर्न लाग्छन् ।त्यसैलाई उनीहरूले सफलताको मानक ठान्छन् । तर जाे राजनीतिमा सफल हुन्छ, उसले सुरुवात देखि नै व्यक्तिगत सुख प्राप्तिको लागि हैनकि समाज रुपान्तरण र अन्यायकाे विरुद्धमा लड्छ ।
राजनीतिलाई धेरैले बदनाम बनाएका छन । नेतृत्वले सामूहिक प्रगति,विकास,संमृद्वि र देशकाे स्वाधिनता भन्दा व्यक्तिगत महत्वकांक्षालाई परिपूर्ति गर्ने साधनका रूपमा राजनीतिलाई उपयोग गर्दा यो बदनाम भएको हो।राजनीतिलाई यसरी बद्नाम बनाउने ब्यक्तिलाई भकारीमा कुहिएको एउटा आलु टिपेर फालेजस्तो फाल्न सकिएन भने यस्ता ब्यक्तिहरुले राजनीतिलाई थप बद्नाम बनाउने निश्चिति छ।
राजनीतिमा हाेमिएपछि सानाठूला पदकाे आशा गर्नु अश्वभाविक हैन । कर्तव्यबोध पहिलो विश्वास हाे । नेपालकाे ईतिहासमा वीर गणेशमान लगायत केहि यस्ता महान व्यक्तिहरु देखापरेका छन, जसले देशकै ठुला र प्रमुख पदहरु पनि अस्वीकार गरे । गणेशमान पक्कै असफल हाेईनन । राजनीतिमा सफल हुनुकाे अर्थ पद हाेईन । याे जरुरी छैन कि देशमा प्रधानमन्त्री , राष्ट्रपति , मन्त्री भए वा प्रमुख पदमा पुगेर पैसा र ईज्जत कमाए उनीहरु मात्र सफल भए । राजनीतिमा अगाडि बढ्दै गर्दा सुकुम्बासी वन्नुपर्ने खतरा आउन सक्छ । सम्मानकाे न्यानो दाेसल्ला मात्र प्राप्त हुन पनि सक्छ र सहिदको सुचीमा समावेश हुन पनि सकिन्छ । यी सवै घट्नाक्रममा आत्मसम्मान र आत्मसन्तुष्टि अनुभुत गर्ने र जुनसुकै परिस्थिति सामना गर्ने आँट र हिम्मत हुनैपर्छ ।
राजनीतिमा सफल हुनका लागि धेरै पैसा चाहिन्छ र पैसाले नेता बनिन्छ या चुनाव जितिन्छ भन्ने गलत मान्यता हो । राजनीतिमा सफल हुन प्रशस्त पैसा भन्दा पनि नियमित आम्दानीको श्रोत भने अब नेताहरुले बनाउंँनै पर्छ।भाषण गर्न सिपालु भएर मात्र पनि हुँदैन,सक्रिय भएर मात्र पनि हुँदैन,धेरै वुद्दिमान र चलाख भएर मात्र पनि हुँदैन । प्रविधिको ज्ञान मात्र भएर पनि हुदैन । राजनीति सफल हुनका लागि अध्ययन,पैसा,प्रविधिकाे प्रयाेग,भाषणकला,भलाद्मी पन,निष्ठा,ईमानदारिता र सक्रियता जस्ता कुराहरू अत्यावश्यक छन् ।
(लेखक नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन्)

