कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एसको सहयोग



काठमाडौं ।नेकपा एसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी गरी पार्टीका उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सघाउने निर्णय भएको जानकारी गराएका हुन्।

पार्टी अध्यक्ष सोही नगरपालिकाको वडा नं. ४ को वडाध्यक्षमा भने नेकपा (एस) की उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ ।

तर, उक्त वडामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिने नारायण विष्टले उम्मेदवारी निष्क्रिय पार्ने, नपार्नेबारे केही भनेका छैनन् । पार्टीले पनि त्यसबारे केही भनेको छैन ।

एसको तर्फबाट कीर्तिपुरको निर्वाचन संयोजन गर्ने जिम्मेवारी पाएकी प्रदेश सांसद रमा आलेले वडाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी निस्कृय नपारेसम्म मेयरको उम्मेदवारी एकोहोरो निष्क्रिय पार्नुको अर्थ नहुने बताइन् ।

‘माओवादीसँगको पूर्वसहमतिका आधारमा मेयरको उम्मेदवार निष्क्रिय पार्ने कुरा त ठीक छ, तर हामीले पाएको वडाध्यक्षमा उहाँहरु पछाडि हट्नुपर्छ’, उनले भनिन्, ‘नत्र एकोहोरो माया गरेर केही अर्थ छैन ।’

प्रतिक्रिया दिनुहोस्