ल्हाक्पा तेन्जीको पहलमा जुट्यो फाप्लुमा उपचाररत पेमालाई १ लाख १५ हजार सहयोग



दावा जाङ्बु शेर्पा,काठमाडौं।आर्थिक अभावमा उपचार गर्न नसक्दा समस्यामा परेकी पेमा शेर्पाको उपचारका लागी १ लाख १५ हजार रुपैयाँ सहयोग जुटेको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ की पेमा शेर्पाको उपचारका लागि शेर्पा किदुक रोमानियाका अध्यक्ष समाजसेवी ल्हाक्पा तेन्जी लामा शेर्पाको बिशेष पहलमा सो सहयोग जुटेको हो।विगत लामो समयदेखि समाज सेवामा सक्रिय रहनु भएका शेर्पा युरोप पत्रकार महासंघका सदस्य समेत हुनुहुन्छ।

रोमानियामा रहेका शेर्पा दाजुभाइबाट संकलन गरि १ लाख १५ हजार रुपैयाँ सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पामार्फत आज जिल्ला अस्पताल फाप्लुमा लगेर
सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष ल्हाक्पा तेन्जीले जानकारी दिनुभयो।

रोजगारको सिलसिलामा काठमाडौं छिरेकी पेमा ठुलो रोग लिएर घर फर्किएकी थिइन। गरिब परिवारमा जन्मिएकी पेमालाई काठमाडौ हुँदा रोगले च्यापिसकेको थियो । हेरचाहको अभावमा त्यो रोग बढ्दै गएपछि उनी गाडी चढेर जिल्ला फर्केकी थिइन।गाडीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको गेटमा छाडिदिएपछि उनलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

जिल्ला अस्पताल फाप्लुका डाक्टर प्रशान्त शाहका अनुसार अहिले पेमाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।उनको नियमित उपचार भइरहेको छ ।सकेसम्म हर सम्भव प्रयास गरि उनलाई खतरा भन्दा बाहिर ल्याइएको डाक्टर शाहको भनाई छ । उहाँले अस्पतालले नि:शुल्क उपचार सुरु गरेकोमा अहिले सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्