स्थानीय तह उपचुनावका लागि उम्मेदवारी दर्ता हुंँदै
काठमाडौं।यही १६ गते हुने पालिकाको उपचुनावका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ ।
आज बेलुका पाँच बजेसम्म उम्मेदवारी मनोनयनको समय रहेको छ । आजै बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।
भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी पर्सि ४ गते बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि दिँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । ५ गते नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

