जनतामा फैलिँदो निराशालाई उपयोग गरेर देशलाई प्रतिक्रान्तितिर लैजाने प्रयास भइ रहेको प्रचण्डको आरोप
काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता सजग हुनुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवसलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।
‘विगतको जस्तै संविधानलाई मिच्ने, संसद् विघटन गर्ने कोसिस सफल नहोस् । प्रतिगमनतिर जाने प्रयास सफल नहोस् । यसमा हामी सजग बस्नुपर्छ, जनता जाग्नु पर्छ’, उनले भने ।
प्रचण्डले अर्कोतिर अराजकतवादीहरू सलबलाउन थालेको टिप्पणी गरे । ‘अराजकतवादीहरूले जनतामा फैलिँदो निराशालाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिक्रान्तितिर लैजाने प्रयास गरेका छन्, त्यो सफल नहोस् । त्यसका खातिर हामीले खबरदारी गर्नु पर्छ’, उनले भने ।उनले आफूहरू सदैव संविधान र जनताको पक्षमा रहेको पनि बताए ।

