आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्दै विद्युत प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्दै छ।

भारतले अन्तिम स्वीकृति दिएसँगै बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो ।भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेश ४० मेगावाट विद्युत प्रवाह शुभारम्भ कार्यक्रम शुक्रबार मध्याह्न १२ बजे नेपाल, भारत र बंगलादेशका उर्जामन्त्रीको भर्चुअल सहभागीतामा गरिने भएको छ ।

यस अघि नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता भने भइसकेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालको बिजुली बंगलादेश लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता भए पनि भारतले प्रसारणलाइन प्रयोग गर्ने अनुमति दिएको थिएन ।

बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्‍को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो । पेस गरिएका बोलपत्र सम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको
लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)-भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

नेपालले जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म ५ महिना बिजुली निर्यात गर्न सक्छ । प्रत्येक महिना २८ हजार ८०० मेगावाट आवर विद्युत निर्यात गर्ने छ । प्रतियुनिट बिजुलीको मूल्य ६.४ सेन्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्