गोकर्णेश्वरमा एकै परिवारका तीन जनाको शव सडेको अवस्थामा फेला



काठमाडौं।काठमाडौंको गोकर्णेश्वरमा घरभित्र एकै परिवारका तीन जनाको शव सडेको अवस्थामा फेला परेको छ।

गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीको घरको कोठाभित्र उनकी श्रीमती वर्ष ३३ की सीता दंगाल (नगरकोटी),छोरी वर्ष १५ की अंशु मोक्तान र छोरा २ महिनाको बालकको शव सडेको अवस्थामा फेला परेको हो।

घरमुली कान्छाले कात्तिक १६ गतेखि श्रीमती,छोरी,छोरा हराइरहेको भनि आज (कात्तिक २९ गते) प्रहरी वृत बौद्धमा खोजतलासको लागि निवेदन दिएका थिए ।

सोही आधारमा प्रहरी टोली गएर हेर्दा घरभित्रै तीनै जनाको शव फेला पारेको हो । घटनाको सम्बन्धमा प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौं बाट समेत अनुसन्धानको लागि टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।

प्रहरीका अनुसार, घरमा बाहिरबाट ताला लगाएकाले श्रीमती कतै गएको हुनसक्ने अनुमान गरेको श्रीमान कान्छा नगरकोटीले बयान दिएका छन् ।

‘उहाँहरुबीच पटक–पटक घरमा झगडा पनि हुने गरेको रहेछ, त्यस्तोमा कहिले श्रीमान् घर छाडेर हिँड्ने कहिले श्रीमती हिँड्ने हुने गरेको रहेछ’,अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘पछिल्लो समय १६ कात्तिकदेखि श्रीमान घरबाट बाहिरै रहेछन् ।’

प्रतिक्रिया दिनुहोस्