सहकारी ठगी : कांग्रेस र एमालेका नेताहरूलाई अनुसन्धानमा नल्याएकोप्रति प्रचण्डको आपत्ति
काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई अनुसन्धानमा नल्याएकोप्रति आपत्ति जनाएका छन् ।

संसदीय समितिले दोषी ठहर गरेका कांग्रेस र एमालेका नेताहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको प्रचण्डको दावी थियो।
काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाउँदै विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको र अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको आरोप समेत लगाए ।
सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा ओलीले नै रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताए ।
उनले भने– ‘तपाईंहरुलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखापर्यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यतिबेलाको सीआइबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौँ, माओवादी पर्यो भनेपनि समात्नुस भनेको हो । अरू हैन प्रचण्ड देखा पर्यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्यो भने बचाउन सभा गर्नुपर्छ ?’
उनले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन गरे ।

