राष्ट्रपति मोहम्मद शाहबुद्दीनको राजीनामा माग गर्दै बंगलादेशीहरु फेरि निस्किए सडकमा
ढाका । बंगलादेशमा शेख हसिनाको सरकारलाई अपदस्त गर्ने आन्दोलनकारी फेरि सडकमा उत्रिएका छन्। प्रदर्शनकारी विद्यार्थीले शेख हसिनाको राजीनामाको विषयलाई लिएर राष्ट्रपति मोहम्मद शाहबुद्दीनको राजीनामा माग गरेका छन्।

हसिनाको राजीनामाबारे राष्ट्रपति शाहबुद्दीनले गरेको खुलासाले बंगलादेशमा संवैधानिक संकट देखापरेको छ। राष्ट्रपतिको भनाइअनुसार मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकार असंवैधानिक छ।
गत साता बंगाली दैनिक मनाब जमीनसँगको अन्तरवार्तामा राष्ट्रपति शाहबुद्दीनले भनेका थिए, ‘अगस्टमा भएको विरोध प्रदर्शनका बीच देश छोड्नुअघि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको कुनै कागज र प्रमाण छैन।’
बंगलादेशी राष्ट्रपतिले धेरै प्रयास गर्दा पनि अहिलेसम्म कुनै कागजात फेला पार्न नसकेको बताए।
राष्ट्रपतिको यो भनाइसँगै बंगलादेशमा हसिना अहिले पनि प्रधानमन्त्री छन् त भन्ने आवाज उठेको छ। राष्ट्रपतिको भनाइसँगै बंगलादेशको अन्तरिम सरकारको संवैधानिकतामाथि प्रश्न उठाएको छ।
हसिना विदेश पलायन भएको तेस्रो दिन अगस्ट ८ मा बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। युनुस र उनको सल्लाहकार परिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुअघि आफूले सर्वोच्च अदालतको राय मागेको शाहबुद्दीनले बताउँदै असाधारण अवस्थालाई ध्यानमा राखी अगाडि बढ्न सुझाव दिएको बताए।
राष्ट्रपतिको भनाइ सार्वजनिक भएलगत्तै बंगलादेशमा हसिना विरोधी समूह भड्किएको छ। हसिनाविरुद्ध आन्दोलन गरिरहेका विद्यार्थीहरूको समूहले केन्द्रीय शहीद मीनार अगाडि र्याली निकालेर शाहबुद्दीनको राजीनामा मागेको छ। प्रदर्शनको नेतृत्व गर्ने एक नेताले राष्ट्रपतिलाई फासीवादी भएको बताए। उनले भने‚ ‘राष्ट्रपति नरसंहारको पक्षमा थिए। उनको राजीनामा माग्छौँ।’
राष्ट्रपतिनिवास बंगभवनतर्फ अघि सर्दै समूहका प्रमुख नेताले शाहबुद्दीन अपराधी भएको नारा लगाए। विपक्षी विद्यार्थी नेताले भने, ‘हामी उनलाई तुरुन्त राजीनामा र बंगभवन खाली गर्न अनुरोध गर्दछौं। अन्यथा जुलाईमा जस्तै अर्को आन्दोलन शुरु गरी गलहत्याउनेछौँ।’
बंगलादेशका राष्ट्रपतिले अन्तरवार्तामा भनेका थिए, ‘विद्यार्थी आन्दोलनका बीच बंगलादेश छोड्नुअघि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको मैले सुनेको छु, तर मसँग यसको कुनै दस्तावेज र प्रमाण छैन। धेरै प्रयास गर्दा पनि अहिलेसम्म राजीनामाको कागजात पाएको छैन। उनले राजीनामा दिने समय नपाएको पनि हुनसक्छ।’

