एमालेले सोध्यो तीन नेतालाई स्पष्टीकरण,७ दिनभित्र जवाफ पेश गर्नुपर्ने



काठमाडौं। नेकपा एमालेले पार्टीका तीन नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गर्ने पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएको हो।

आइतबार साँझ बसेको सचिवालय बैठकको निर्णय अनुसार महासचिव शंकर पोखरेलले सोधेको स्पष्टीकरणमा‘… विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, भनिएको छ ।

एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरुलाई निलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।

पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय कार्यालय स्वीकार्ने पार्टी निर्णयप्रति विमति जनाएका थिए । पूर्वउपाध्यक्ष रावललाई विगत लामो समयदेखि अलग गतिविधि गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्