अमेरिकाविरुद्धको तिन खेलको टी-२० सिरिजमा नेपालको क्लिनस्विप



काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरूद्धको तीन खेलको टी-२० सिरिजमा क्लिनस्विप गरेको छ। सोमबारआज बिहान भएको तेस्रो टी-२० खेलमा ८ विकेटको जितसँगै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा परेको हो।

सोमबार आज अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। मल्लले ३० बलमा ४ चौका र १ छक्का तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ५० रन जोड्ने क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अनिल साहले १३ रन मात्र जोड्न सके।

ग्रान्ड प्रिएरीमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर तथा कप्तान मोनाक पटेल २ रनमा एलबिडब्लूको धरापमा परे। उनलाई पनि सोमपालले दोस्रो ओभरमा सिकार बनाएका थिए।

अघिल्लो खेलमा अर्धशकत प्रहार गरेका आन्द्रेस गस २ रनमा आउट हुँदा आरोन जोन्सले १३ रन मात्र जोड्न सके।

मिलिन्ड कुमारले नटआउट ४३ रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे। हर्मित सिंहले ३ बलमा नटआउट १० रन बनाए।बलिङमा नेपालका सोमपालले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट हात पारे।

यस्तै सिरिज सकिएसँगै सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर ‘अफ द सिरिज’ बनेका छन् भने आज सप्पन्न तेस्रो तथा अन्तिम खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन् ।

यो सिरिजपछि नेपाल,अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ। लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्