लामिछाने पक्राउको बिरोधमा देशभर प्रदर्शन गर्न रास्वपाको निर्देशन
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि जिल्ला अधिवेशनहरू तत्तकाललाई स्थगित गरे रास्वपाले देशैभर प्रदर्शन गर्न लागेको हो ।गत बिहीबारदेखि रास्वपाले जिल्ला भेला सुरु गरेको थियो ।
उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
‘राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा भोलि देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्न समेत यसै सूचना मार्फत अनुरोध गर्दछौं,’ कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिएर शुक्रबार लामिछानेलाई रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।
लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध साँध्न सभापति लामिछानेलाई पक्राउ गरिएको बताएको छ ।

