लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको परराष्ट मन्त्रालयद्वारा निन्दा



काठमाडौं:लेबनानमा शान्ति सैनिकमाथि इजरायलले हालै गरेको आक्रमणको नेपालले भर्त्सना गरेको छ। मंगलबार आज बिहान सामाजिक सञ्जालमा लेख्दै परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

‘नेपाल संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यूएनआईएफआईएल) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्छ’, मन्त्रालयले लेखेको छ, ‘साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्छ। यस्ता आक्रमण तत्काल रोक्नुपर्छ र घटनाको गम्भीर अनुसन्धान गर्नुपर्छ।’

आइतबार राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना जबर्जस्ती प्रवेश गरेका थिए। भोलिपल्ट इजरायली सेनाले हिजबुल्लाहलक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए।

लेबनानमा नेपाली सैनिक पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रूपमा खटिँदै आएका छन्।

यसअघि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३३ देशले सोमबार संयुक्तरूपमा विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्