भलिबल:नेपाल किर्गिस्तानसँग पराजित अन्तिम खेलमा आज तुर्केमेनिस्तानको सामना गर्दै
काठमाडौं:नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा बिहीबार हिजो भएको खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको छ।

श्रीलंकाको राजधानी कोलम्बोमा सुरुआती दुई सेट २३–२५, २१–२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५–२१, २५–२२ ले आफ्नो पक्षमा पारेको थियो।
पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७–१९ ले पछि पर्यो ।
नेपालले चार खेलमा सात अंक जोडेको छ। यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो।
किर्गिस्तानको चार खेलबाट चार अंक छ। यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तानसँग समान ३–० को पराजय ब्यहोरेको किर्गिस्तानले श्रीलंकाविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो।
अब नेपालले लिग चरणको अन्तिम खेलमा आज शुक्रबार तुर्केमेनिस्तानको सामना गर्नेछ।

