मेलम्चीको पानी उपत्यकाका नागरिकका लागि बितरण सुरु
काठमाडौं।खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

खानेपानी मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको बार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो। दसैं अगाडि काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका संघर्ष समितिसँग वार्ता गरेको थियो।
सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रशाद लामिछानेले बताए।
मेलम्चीको पानी अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले अब काठमाडौं उपत्यकाबासीका धारा-धारामा पानी वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए। उनले भने,’मेलम्चीको सफा अनि शुद्ध पानी आइपुगेको छ। अब केही समयमै नागरिकका धारा धारामा पठाउछौं।’

