नेचासल्यान : भोलिदेखि बिब्ल्याटे-ठोट्ने-गैरी सिधा सवारी साधन सञ्चालन हुने



काठमाडौं।ओखलढुंगाबाट पत्ताले-रमिते हुँदै नेचासल्यानसम्मको यात्रा गर्नुपर्ने नेचासल्यानबासीको बाध्यता तत्कालका लागि समाप्त हुने भएको छ।

नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको अथक प्रयासपछि सोमबारबाट ओखलढुंगाको सिद्दिचरण नगरपालिकाको माथिल्लो विव्ल्याटे हुँदै ठोट्ने-सोलाघर-गैरी हुँदै नेचा बिहिवारे र सल्यानसम्म सिधा सवारी साधन सञ्चालन हुने भएपछि नेचासल्यानबासीले पत्ताले-रमिते घुम्नु पर्ने बाध्यताको अन्त्य भएको हो।

माथिल्लो विब्ल्याटे- ठोट्ने-गैरी सडक अवरुद्ध भएयता गत जेठदेखि नेचासल्यानबासी पत्ताले हुँदै यात्रा गर्न बाध्य थिए। हिजो राती अबेरसम्म गैरीसम्मको सडक मर्मत तथा सफाइ सकिएको छ।आज बोसिम क्षेत्रको काम सम्पन्न भएपछि भोलिदेखि सो सडक खण्डमा सवारी साधन सञ्चालनमा ल्याउन लागिएको हो।नेचासल्यानसम्मको यात्राका लागि ओखलढुंगाबाट पत्ताले-रमिते सबैभन्दा लामो रुट हो।माथिल्लो विव्ल्याटे-ठोट्ने-गैरी सिधा यातायात सञ्चालन भएपछि समय र भाडा दुबै बचत हुने नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो।

बर्षाका कारण सडक अवरुद्ध भएपछि त्यसलाई सञ्चालन गर्न नेचासल्यान गाउँपालिका अध्यक्ष राईले जेठबाटै ताकेता गर्नुभएको थियो।चिसंखुगढी गाउँपालिकासंग सहकार्य गरेर ठोट्ने गैरी सडक मर्मत तथा सफाई गर्ने प्रयास गरे पनि त्यो सम्भव नभएपछि नेचासल्यान गाउँपालिकाको एकल प्रयास र लगानीमा अहिले बाटो पुनः सञ्चालनमा ल्याईएको हो।

ठोट्नेदेखि माथिल्लो विब्ल्याटेसम्मको खण्डमा भने ओखलढुंगाको सिद्दिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल र वडाध्यक्ष डिल्लीसेर राईको सक्रियता तथा सह-लगानी रहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।विब्ल्याटे-गैरी-सल्यान सडक खण्ड मर्मत तथा सफाइको जिम्मेवारी स्वर्ण सगरमाथा सडक आयोजनाको हो।तर आयोजनाले त्यसप्रति चासो नदेखाएपछि पालिकाबासीले यात्राका क्रममा भोग्नुपरेको सास्ती र कठिनाई कम गर्न सिद्दिचरण नगरपालिकासंगको समन्वयमा गाउँपालिका आफैंले सडक मर्मत र सफाइका लागि अग्रसरता लिएको अध्यक्ष राईको भनाई छ।

अध्यक्ष राईले बाटो पुनः अवरुद्ध नहोस् भनेर लालु-हिले-टुहुरे क्षेत्रमा झण्डै चार दर्जन जालीको प्रयोग गरेर सडक मर्मत गरिएको अध्यक्ष राईले बताउनुभयो ।अध्यक्ष राईका अनुसार सोमबारदेखि विब्ल्याटे,ठोट्ने-गैरी सडक खण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा ल्याईएपनि ६ चक्के र १० चक्के ठुला मालवाहक साधन सञ्चालनमा भने बन्देज लगाईएको छ।

प्रतिक्रिया दिनुहोस्