विद्युत व्यापार सम्बन्धि त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा : मन्त्री खड्का



काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको बिजुली बङ्गलादेश पुर्‍याउनेसम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताएका छन्।

नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेश पुग्ने बाटो खुल्नु नै महत्वपूर्ण कदम भएको र यसले आगामी दिनमा थप आयाम विस्तार गर्ने उल्लेख गर्दै उनले त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा भएको बताए।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्न लागेकाले यो समारोह नै ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए।

“आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बङ्गलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको छ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो”, ऊर्जामन्त्री खड्काले भने।

मन्त्री खड्काले बङ्गलादेशको नयाँ अन्तरिम सरकार र बङ्गलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिए। उनले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई ऊर्जा व्यापार सम्बन्धले जनस्तरमा थप सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपालमा उत्पादित विद्युत् सीमापार प्रसारण लाइनबाट बङ्गलादेश पुग्नका लागि सहज बनाउन भारत सरकारको अटल एवं निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे।

मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त भएका सन्दर्भमा १५ हजार मेगावाट निर्यातका लागि उपयोग हुने धारणा राखे। त्यसमध्ये पनि पाँच हजार मेगावाट बङ्गलादेशका लागि नै भएको उनको कथन छ।

प्रतिक्रिया दिनुहोस्