थुलुङ दुधकोशीभित्रका विद्यालयको सिकाइ उपलब्धि ४.४४ प्रतिशतले वृद्धि



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अन्तरगतका विद्यालयको सिकाइ उपलब्धि गत वर्ष भन्दा ४.४४ प्रतिशतले वृद्धि भएको छ ।शिक्षा क्षेत्रमा लामो समयदेखि जिल्लामा रहेर काम गरिरहेको रीड नेपालको तथ्याङ्क अनुसार गत वर्ष ५८.३२ रहेको सिकाइ उपलब्धि यो वर्ष वृद्धि भएर ६२.७६ पुगेको हो ।

आर्थिक वर्ष २०८० /२०८१ मा संचालित शैक्षिक कार्यक्रमको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।गाउँपालिका अध्यक्ष तथा पालिका परियोजना सल्लाहाकार समिति अध्यक्ष असिम राईको अध्यक्षतामा आयोजित कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले गत वर्षका गतिविधि उपलब्धि,तथ्यांक विश्लेषण,बजेट र खर्च प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले रीड नेपाल पालिकाको शैक्षिक सहयात्रीको रुपमा रहेको भन्दै रीडको कार्यको खुलेर प्रशंसा गर्नुभयो । आफ्नो पहिलो सरोकारको बिषय शिक्षा रहेको बताउँदै उहाँले शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि आफ्नो तर्फबाट कुनै पनि कमी हुन नदिने बताउनुभयो ।

यस्तै रिड नेपालसंगको सहकार्यमा पालिका भित्रका ५१ ओटै विद्यालयको प्रोफाइल निर्माण गर्न आवश्यक बजेट व्यबस्था गर्ने अध्यक्ष राईले बताउनुभयो । यस्तै संयुक्त अनुगमन,शिक्षक डायरी, विद्याथी सिकाइ मूल्यांकनको प्रयोग अभिभावक अभिमुखीकरण तथा तालिम लगायतका कार्यक्रमहरु संचालन गर्न शिक्षा शाखालाई निर्देशन दिदै आवश्यक बजेट व्यबस्था हुने बताउनुभयो ।

कार्यक्रममा पालिका उप प्रमुख सबिता राई,वडा अध्यक्षहरु, कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राई, स्थानीय स्रोत शिक्षक र शाखा प्रमुखहरुको उपस्थित्ति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्