सहकारी बचत अपचलन सम्बन्धि संसदीय छानबिन समितिको म्याद १५ दिन थप
काठमाडौं।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको कार्यवधि १५ दिनका लागि थप गरेको हो ।

बैठकमा छानविन समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउँदै समय अपुग भएको भन्दै म्याद थपका लागि प्रस्ताव गर्नु भएको थियो । उहाँको प्रस्तावमा छानविन समितिको म्याद १५ दिन थपिएको हो ।
यसअघि समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । जसअनुसार समितिको यही २२ गते प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको थियो । समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो ।
समितिका कामबारे सभापति थापाले प्रतिनिधिसभालाई जानकारी पनि दिएका थिए । ‘मुलुकमा सहकारी समस्या विकराल राष्ट्रिय समस्या बनिरहँदा समितिले जरैदेखि सहकारीका समस्या पहिचान र समाधानतर्फ कोसिस गर्ने क्रममा सरोकारवाला विभिन्न निकाय, विज्ञ एवं व्यक्तिहरूसँग परामर्श,तथ्य जानकारीका लागि पत्राचार, छलफल र सोधपुछका निर्धारित कार्य सम्पादन गर्दै आएको छ । सहकारी नियमनसँग प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएका विभिन्न निकायका कर्मचारी एवं सुरक्षाकर्मी समितिको सम्पर्क व्यक्तिको रूपमा जोडिएका छन्,’ थापाले भने, ‘हालसम्म समितिले विभिन्न सहकारी सस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरूसँग सोधपुछ कार्य सम्पन्न गरिसकेको सभालाई जानकारी गराउन चाहन्छु ।’
त्यस्तै, समितिले आफ्नो कार्यादेशभित्र रही छानबिन कार्यसँग सम्बन्धित संघ, प्रदेश र स्थानीय तहका विभिन्न सहकारी सम्बद्ध निकायसँग छलफल, सहकार्य एवं समन्वय गरी समितिले कार्य गरिरहेको पनि सभापति थापाले बताए ।