गृह जिल्ला पुगेका रक्षामन्त्री राईले गरे ८२ बर्षीय बिरामीको उद्दार



सोलुखुम्बु।रक्षामन्त्री मानबीर राईले गृह जिल्ला सोलुखुम्बुबाट एकजना बिरामीको उद्दार गरेका छन।

मन्त्री नियुक्त भएपछि शुक्रबार दोश्रो पटक गृह जिल्ला पुग्नुभएका मन्त्री राईले सेनाको हेलिकप्टरबाट ८२ बर्षीय बिरामी रिञ्जी तामाङको उद्दार गरेका हुन्।तामाङलाई बिहीबारजिल्ला अस्पताल फाप्लुमा उपचारका लागि भर्ना गरिएको थियो। दम र अल्सर रोगबाट लामो समयदेखि पीडित रहेका तामाङको उपचार यहाँ सम्भव नहुने भन्दै अस्पतालले काठमाडौं रिफर गरेको थियो।

तामाङलाई सडकमार्गबाट काठमाडौं लैजान कठिन रहेको र हवाई मार्गबाट उपचारका लागि लैजान मौसमी प्रतिकूलताका कारण निश्चिति नभएको थाहा पाए पछि काठमाडौ फर्कने क्रममा मन्त्री राईले बिरामीलाई आफैंसंग लिएर काठमाडौं फर्कनु भएको सोलुदुधकुण्ड नगरपालिका वडा नं- ४ का वडाध्यक्ष युवस तामाङले रहस्यखबरलाई बताए।

मन्त्री राई थामेखोलामा साउन ३२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको खुम्बु-माप्य जोड्ने ओर्लाङघाटस्थित मितेरी पुलको निरीक्षण,दुधकुण्ड पोखरीको अवलोकन भ्रमण र जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिने लगायतका कामका लागि गृह जिल्ला आएका हुन्।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका राई खुम्बु पासाङ ल्हामू गाउँपालिका वडा नं-५ थामेमा बाढी आएको भोलिपल्ट त्यसको निरीक्षणका लागि भदौ १ गते पहिलो पटक गृह जिल्ला सोलुखुम्बु आएका थिए।

प्रतिक्रिया दिनुहोस्