संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष प्रचण्ड : पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाएका छन्।
एमाले नेता योगेश भट्टराईले दस बर्षे माओवादी युद्धलाई हिंसाको संज्ञा दिएपछि उत्पन्न बहसलाई लक्षित गर्दै महासचिव पोखरेलले बिहीबार सांझ सामाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन्।विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरित नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण भएको उनको दावी छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,-अहिले संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हो । विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलन विपरित नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समिकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षवाट हुनु स्वभाविक नै हो । त्यसवाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनु पर्दैन ।
अहिले माओवादीका मित्रहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ। तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा वोलेन भनेर विरोध गर्नेले माओवादीले चै संविधानले नस्विकारेको भाषा वोल्न मिल्छ र ?स्मरण रहोस् जुन दिन माओवादी पक्षले जनयुद्ध शव्द प्रयोग गर्न छोड्दछ त्यो दिन देखि उनीहरुलाई नेकां र एमालेलाई हिसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ ।