एक नारायण अर्याल मुख्य सचिब नियुक्त
काठमाडौं।नेपाल सरकारको मुख्य सचिबमा वरिष्ठ सचिव एकनारायण अर्याललाई नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृहसचिव रहेका अर्याललाई यही १६ भदौ देखि लागू हुने गरी नेपालको २७ औं मुख्य सचिवमा नियुक्त गरेको हो ।मुख्य सचिव लीलादेवी गड्तौलाले शुक्रबारदेखि अनिवार्य अवकाश पाउने भएकाले अर्याललाई नयाँ मुख्य सचिव बनाइएको हो ।मुख्य सचिवको दौडमा अन्य सचिवहरु दिनेश भट्टराई,तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी लगायत रहेका थिए ।
सरकारले उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । निजामती सेवा ऐनमा बहालबाला सचिवहरु मध्ये कार्यसम्पादन तथा ज्येष्ठताका आधारमा एकजनालाई सरकारले मुख्य सचिव नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । सो ऐन अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव बनाइएको बताइएको छ ।
अर्यालले यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेर सुधारका विभिन्न कार्यहरु गरेका थिए । कलकत्ताको महावाणिज्यदूत रहदा समेत उनले सफलतापूर्वक भूमिका निर्वाह गरेका थिए ।