को हुन् भक्तपुरको गठ्ठाघरमा स्कुटर दुर्घटनामा ज्यान गुमाउने उत्तम कोइराला ?



भक्तपुर।भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने ब्यक्ति ओखलढुंगा जिल्लाको चिसंखुगढीका उत्तम कोइराला रहेको खुलेको छ।

कौशलटारबाट गठ्ठाघरतर्फ जाँदै गरेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा बिहीबार कोइरालाको मृत्यु भएको हो।

भयानक सो दुर्घटनामा लास क्षत-बिक्षत भएका कारण सुरुमा प्रहरीले महिलाको मृत्यु भएको अनुमान गरे पनि पछि सीसीटीभी फुटेजका आधारमा शव पुरुषको भएको निष्कर्षमा प्रहरी पुगेको थियो।

घटनास्थलमा भेटिएको स्कुटरको बिल बुक,सार्बजनिक स्कुटर नम्बर र सम्पर्कविहीन अवस्थाले गर्दा शव कोइरालाकै भएको निष्कर्षमा आफन्त पुगेका छन्।पोष्टमार्टका लागि त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा रहेको सो शव कोइरालाकै भएको पुष्टि भने अहिले सम्म प्रहरीले गरेको छैन।आफन्तले शवको सनाखत गरे पछि मात्रै शव कस्को हो भन्ने पुष्टि गर्न सकिने प्रहरीले बताउंदै आएको छ।

भतिज दीपक कोइरालाका अनुसार शब कोइरालाकै भएको निष्कर्षसहित दोषी उपर कारबाही र क्षतिपूर्तिको माग गर्दै आफन्तहरु यतिबेला प्रहरी कार्यालय ठिमी पुगेका छन् ।

ओखलढुंगा जिल्लाको साविक रातमाटे गाबिस वडा नं ५ छहरे घर भएका कोइराला हाल काठमाडौंको कपन मिलन चोकमा बस्दै आएका थिए।उनी सहिद महेश कोइरालाका भाई हुन्।

कोइराला जनकपुर चुरोट कारखानाका निबृत्त कर्मचारी रहेको उनले बताए।उनकी श्रीमती एन्जु कोइराला राष्ट्रिय खेल परिषदमा सुब्बा स्तरको कर्मचारी छन्।उनका तीन छोरी मध्ये माइली छोरी आस्था कोइराला १० दिन अघि मात्रै एलएलएम अध्ययनका लागी अमेरिकाको क्यान्सस प्रस्थान गरेको दिपकले जानकारी दिए।
दिपकका अनुसार स्वर्गीय कोइरालाकी जेठी छोरी अष्ट्रेलिया र कान्छी बुवाआमासंगै छन्।

यसैबीच,गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने “गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्