गगनले प्रतिनिधिसभामा भने- ‘ कांग्रेसले सत्तापक्षमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को बोली बोल्न हुँदैन’




काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको सत्तापक्ष र प्रतिपक्षमा रहँदा एउटै बोली हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले गिरिबन्धु टी-स्टेट,नक्कली भुटानी शरणार्थी ठगी प्रकरण,ट्रंक लाइन विवाद र सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताउँदै सो कुरा बताएका हुन।

सत्तापक्षमा हुँदा एउटा बोली र प्रतिपक्षमा हुँदा अर्को बोली बोल्न नहुने बताउँदै उनले भने,- ‘गिरिबन्धु, भुटानी शरणार्थी, ट्रंक लाइन विवाद वा सहकारी ठगी हुन्, जतिसुकै शक्तिशाली भए पनि छानबिन हुनुपर्छ सरकारले काम गरेर देखाउनुपर्छ।’

डेडिकेटेड लाइनका विषयमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिएकाले सरकारले निरन्तरता दिनुपर्ने उनले बताए ।‘प्रयोग गर्नेको बक्यौता कसैले नउठाऊ भन्न पाइँदैन । एक रुपैयाँ पनि उठाउनुपर्छ,’थापाले भने ।

कसैमाथि अन्याय हुन नदिने र जतिसुकै पहुँचवालालाई एक रुपैयाँ तलमाथि हुन नदिने विषय संसदमा प्रस्ट पार्नुपर्ने उनले बताए । ‘यो प्रमाणका आधारमा छानबिन गर्नुपर्छ । सरकार फेरिए कुरा फेरिन्छ ? फेरिँदैन,’ उनले भने ।

भ्रष्टाचार आरोपको ढाकछोप गर्न नयाँ गठबन्धन बनेको आरोपलाई दलहरू र जनतालाई बुझाउनुपर्ने उनले बताए । ‘हामीले हल्ला गर्ने होइन,काम गरेर देखाउने हो,’ उनले भने । कुनै पनि प्रकरणमा काम कारबाहीमा भइरहेको भन्ने सन्देश दिनुपर्ने उनले बताए । गिरिबन्धु टी-स्टेटको हदबन्दीभन्दा बढी जग्गा भएकाले सरकारको नाममा फिर्ता ल्याउनुपर्ने उनले बताए । भूमि ऐन अनुसारको अनुगमन समिति बनाएर दुरुपयोग भएको जग्गा फिर्ता ल्याउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्