सीटीईभीटीले दियो ४७ वटा संस्थालाई सम्बन्धन, सात वटाको प्रस्ताव रद्द



काठमाडौं।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ४७ वटा संस्थालाई सम्बन्धन दिने र ७ वटाको प्रस्ताव रद्द्गर्ने निर्णय गरेको छ ।

परिषद्को २००औँ बैठकले सम्बन्धनका लागि अदालतको आदेश लिएका १३ वटा र नियमित प्रक्रियामा रहेका २९ वटा संस्थालाई सम्बन्धन दिने निर्णय गरेको हो । 

यसअघि प्रि–डिप्लोमा पढाउने पाँचवटा संस्थालाई पनि डिप्लोमा तह पढाउन सम्बन्धन दिने परिषद्ले निर्णय गरेको थियो । परिषद्ले स्वास्थ्यतर्फ नर्सिङ, फार्मेसी, रेडियोग्राफी, फिजियोथेरापी, अप्थाल्मिक, ल्याब, एचए कार्यक्रमको सम्बन्धन दिएको हो । त्यस्तै, इन्जिनियरिङतर्फ कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल, सिभिल, आर्किटेक्चर कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ । 
भरतपुरको सेन्ट्रल हस्पिटललाई डिप्लोमा इन फार्मेसी, बाली विज्ञान, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङको अनुमति दिएको छ । चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरी अन्तिम प्रक्रियामा रहेका र अदालतले सम्बन्धन दिन आदेश दिएका १३ वटा संस्थालाई स्वास्थ्य, इन्जिनियरिङ र कृषिको कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको परिषद्ले जनाएको छ । 

विभिन्न मितिमा भएको अदालतको आदेशअनुसार कार्यक्रम सञ्चालनका लागि निजीक्षेत्रका १३ वटा संस्थाले सञ्चालन गर्न अनुमति माग गरेअनुसार आयोगमा कोटा निर्धारणका लागि पठाइएको परिषद्ले जनाएको छ । अदालतको आदेशपछि सम्बन्धन दिने निर्णय गरेर आयोगमा कोटा निर्धारणका लागि पठाइएको संस्थामा झापाको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिजलाई कम्प्युटर, इलेक्ट्रिकल, सिभिल, चितवनको जानकी ग्लोबल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीलाई डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालनको अनुमति दिइएको छ ।

त्यस्तै, धनुषाको नेपाल टेक्निकल इन्स्टिच्युट, सप्तरीको राजविराजस्थित जगदम्बा मेडिकल इन्स्टिच्युट, जनकपुरको रामजानकी टेक्निकल एकेडेमी, सिरहाको अग्रिमा एकेडेमी, कपिलवस्तु टेक्निकल इन्स्टिच्युट, उदयपुरको मोडर्न इन्स्टिच्युटलाई फार्मेसी चलाउन अनुमति दिएको छ । 

झापाको मानसरोवर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीलाई आर्किटेक्चर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ र अप्थाल्मिक साइन्स पढाउन सम्बन्धन दिएको हो । त्यस्तै, सप्तरीको नेसनल पिपुल्स इन्जिनियरिङ कलेजले सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, धनुषाको सेन्ट्रल हस्पिटलले फार्मेसी, रेडियोग्राफी एचए सञ्चालनको अनुमति पाएका छन् । धनुषाको सेन्ट्रल हस्पिटललाई फार्मेसी, रेडियोग्राफी, एचए, सनराइज इन्जिनियरिङ कलेज इलामलाई फरेस्ट्री र सिभिलको अनुमति दिएको छ । 

नवजीवन हेल्थ होम मोरङलाई फार्मेसी र फिजियोथेरापी, दोलखाको च्छोरोल्पा जनरल अस्पताललाई फार्मेसी, ल्याब र एचएको अनुमति दिइएको छ । सुर्खेतको मिडवेस्टर्न कलेज अफ साइन्स एन्ड टेक्नोलोजीलाई जियोमेट्रिक्स, फार्मेसी, सिभिल, शुभ स्वस्तिक टेक्निकललाई एचए र फार्मेसीको अनुमति दिइएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरी अन्तिम प्रक्रियामा रहेका २९ वटा संस्थालाई कार्यक्रम सञ्चालन गर्न आयोगमा कोटा निर्धारणका लागि पठाउने परिषद्ले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्