एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना छानबिनका लागि सरकारले बनायो तीन सदस्यीय आयोग

काठमाडौं।एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना छानबिनका लागि सरकारले तीन सदस्यीय छानबिन आयोग गठन गरेकोमा छ ।

पाँच जनाको ज्यान जाने गरी नुवाकोटको शिबपुरीमा बुधबार भएको सो दुर्घटना छानबिनका लागि मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगले काम सुरु गरेको मितिले ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
हेलिकप्टर दुर्घटनामा चालक अरुण मल्लसहित ५ जनाको ज्यान गएको थियो।मृत्यु हुने अन्य चार जना चिनियाँ नागरिक छन् ।मृतकहरु सबैको शव संकलन गरी काठमाडौं ल्याइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

