मुलुकभर मनसुन फेरि सक्रिय, विभिन्न भूभाग बाढी-पहिरो र डुबानको जोखिममा



काठमाडौं।अविरल बर्षाका कारण मुलुकका विभिन्न भूभाग बाढी-पहिरो र डुबानको जोखिममा रहेको जल तथा मौसम बिज्ञान बिभाग अन्तर्गतको मौसम पूर्बानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बर्षाका कारण आज र भोलि पाँच प्रदेशका ३४ जिल्ला उच्च ३६ जिल्ला मध्यम जोखिममा र सात जिल्ला निम्न जोखिममा रहेका छन् । मनसुन सक्रिय भएकाले कोशीका चार, बागमतीका ६, गण्डकीका ९, लुम्बिनीका १० र सुदूरपश्चिमका पाँचवटा जिल्ला बाढी-पहिरो र डुबानको उच्च जोखिममा रहेको महाशाखाले जनाएको हो ।  

कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा, गण्डकीको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा उच्च जोखिममा रहेका महाशाखाले जनाएको छ । 

यस्तै, लुम्बिनीका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी पनि बाढी, पहिरो र डुबानको उच्च जोखिममा छन् । मधेश र कर्णालीका जिल्ला भने बाढी-पहिरोको उच्च जोखिममा छैनन् ।  

आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी र मोरङका केही स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।  

यता,गए रातीदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित बन्न पुगेको छ । विमानस्थलको भिजिबिलिटी कम भएका कारण जहाज उडान तथा अवतरणमा समस्या विमानस्थल कार्यालयले जनाएको छ ।

केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्टसमेत भएको जनाइएको छ । बिहानै उडान तालिकामा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्