व्यक्तिको चरित्र हत्या गर्ने ३१ वटा युट्युब च्यानललाई काउन्सिलले गर्‍यो कारबाही



काठमाडौं। प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत व्यक्तिको चरित्र हत्या गर्ने किसिमका सामग्री प्रशारण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति-कम्पनी)लाई कारबाही गरेको छ।

काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता-सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो।दर्ता नभएका युट्युवहरुले समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ।

मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।

हेल्लोटिभी नेपाल फेसबुक पेज,पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिएको हो।

काउन्सिलले हिंसा,आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण,अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित,अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।गत आर्थिक वर्षमा काउन्सिलले त्यस्ता ४३ वटा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको थियो।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानल छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताए।“डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री दिन मिल्दैन। त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामग्री सच्याउन, सम्पादन गर्न निर्देशन र आवश्यक कारबाही थालेका हौँ”, उनले भने ।

उनले युट्युब च्यानललाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्