सिमताल दुर्घटना अपडेट : दुई जनाको शव पूर्वी नवलपरासीमा फेला



काठमाडौं।पहिरोसँगै त्रिशूली नदीमा बपेत्ता भएका दुईवटा बसका यात्रुमध्ये दुई जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा शुक्रबार बिहान दुईवटा बस बेपत्ता भएका थिए । शनिबार तीनवटा शव भेटिएका हुन् । एक शव चितवनस्थित गोलाघाटमा भेटिएको थियो भने दुईवटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नागरपालिका ७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यी दुईवटा शवको सनाखत भने हुन सकेको छैन । तर, प्रहरीले शुक्रबार त्रिशूलीमा बेपत्ता भएका बसका यात्रु भएको अनुमान गरेको छ । यसअघि चितवनको गोलाघाटको नारायणी नदीमा भेटिएको शव भारत बिहारका ऋषिपल साह भएको पुष्टि भएको थियो । उनी त्रिशूलीमा बेपत्ता भएको काठमाडौंबाट रौतहट जाँदै गरेको बागमती प्रदेश ३००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ ।

यता त्रिशूलीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस र यात्रुको खोजी कार्य जारी राखेको छ । तर, बस हालसम्म भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्