श्रीपञ्चमीका अवसरमा राष्ट्रपति पौडेलद्वारा बसन्त श्रवण
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन्। त्यस अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गरेको थियो।

राष्ट्रपतिले श्रीपञ्चमीका अवसरमा सो स्थानमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा छ। कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरे। राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरे।
वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका उच्च विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
उनीहरुले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे। श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ।
वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ। त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रश्तुत गरिएको थियो।

