पक्राउ परेका चौधरी र थापाबिरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिने



काठमाडौं । व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने भएको छ ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका दुवै जनामाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिने ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न चौधरीलाई पक्राउ गरिएको प्रहरी जानकारी दियो । उद्योगको नाममा रहेको भनिएको १० रोपनी जग्गा अरुण र उनकी श्रीमतीको नाममा रहेको छ ।

यसैगरी, जग्गा चौधरीको नाममा नामसारी गरिँदा छालाजुत्ताको सञ्चालक समितिका अध्यक्ष रहेका अजितनारायण थापा समेत पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतको भनाइ छ ।

१० रोपनी जग्गा निजी कम्पनीमा नामसारी गरिँदाका कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीमाथि समेत अनुसन्धान हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्