खेल पर्यटन प्रबर्द्धनका लागि आरोहण खेल संघसंग माप्यदुधकोशीको सम्झौता



काठमाडौं।सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले निर्माणाधीन पर्यट्कीय पूर्बाधारको प्रचार प्रसार तथा खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नेपाल आरोहण खेल संघसंग सम्झौता सम्पन्न गरेको छ ।

कृत्रिम वाल आरोहण(wall climbing), चट्टान आरोहण (rock climbing) र पाराक्लाइम्बिङ(paraclimbing) र आइस क्लाइम्बिङ(ice climbing) लगायत आरोहण खेलको बिकास,बिस्तार र बिश्वब्यापीकरणका लागि महत्वपूर्ण योगदान गर्दै आएको सो संघसंग खेल र खेल पर्यटनको बिकास गर्ने उद्देश्यले सम्झौता गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो।

सोमबार सम्पन्न द्विपक्षीय सो सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट राई स्वयं र संघको तर्फबाट महासचिव सन्तोष मादेनले हस्ताक्षर गरेका छन्।सम्झौता पत्रमा संघले बर्षमा एक पटक माप्यदुधकोशी गाउँपालिकामा रक क्लाईम्बिङ प्रतियोगिता आयोजना गर्ने, रक क्लाईम्बिङ तालिम तथा महोत्सवको आयोजना गर्ने र सो प्रयोजनका लागि दुबै पक्षले आर्थिक साझेदारी गर्ने उल्लेख छ।

रक क्लाइम्बिङका लागि माप्यदुधकोशीले गाउँपालिकाको महभिरमा गत पुसमा कीर्तिमानी आरोही कामीरिता शेर्पाले उद्घाटन गरेका थिए।गाउँपालिकाको समृद्धि र पालिकाबासीहरुको आयश्रोतको माध्यम पर्यटन ब्यबसायलाई बनाउने अठोट सहित एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग निर्माणसंगै महभीरमा रक क्लाईम्बिङ सेण्टर स्थापना गरेका गाउँपालिका अध्यक्ष राईले रक क्लाईम्बिङ खेलको प्रबर्द्धनका लागि यो सम्झौता महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गर्दै आगामी जुन महिनामा सो खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न माप्यदुधकोशीलाई छनौट गरेकोमा नेपाल आरोहण खेल संघलाई धन्यवाद व्यक्त गरेका थिए।

आरोहण खेलको बिकास र पर्यटन प्रबर्द्धनमा यसले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउंदै अध्यक्ष राईले गाउँपालिका सम्झौता पालनामा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संघका महासचिव मादेनले आरोहण खेल नेपालको साहसी खेल भएको बताउंदै पछिल्लो समय यसले निकै लोकप्रियता हासिल गरेको बताए।खेललाई पर्यटनसंग जोडेर लैजानुपर्ने सरकारको नीति रहेको बताउंदै उनले माप्यमा पहिचान भएका चारवटा क्लाइम्बिङ रुटको बिकास गरेर अगाडी बढ्न सके यसले आरोहण खेलको बिकास र खेल पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्