नक्कली शरणार्थी प्रकरण मानवता र राज्यविरुद्धको अक्षम्य अपराध : नेपाल डेमोक्रेट युनियन



काठमाडौं।नेपाल डेमोक्रेट युनियनले नक्कली भुटानी शरणार्थी प्रकरणले प्रजातान्त्रिक विश्वमा नेपालको छवि, साख र विश्वसनीयतामा मर्मांतक आघात पारेको भन्दै यस अपराधिक कार्यको व्यापक एवं निर्मम छानबिन गरी कुनै पनि पद र तहका अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ।

बिहिवार बिज्ञपति जारी गर्दै युनियन प्रेसिडेन्ट सिद्धार्थ गौतमले भनेका छन्,- नक्कली भुटानी शरणार्थी काण्ड नेपालको राजनीतिक नेतृत्वको पतनको निकृष्ट उदाहरण हो।आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम उठाउने र किर्ते कागजात खडा गरेर उनीहरुलाई शरणार्थी बनाइ विदेश लखेट्ने यस काण्डमा देशको उच्च प्रशासनिक तह मात्र होइन एकपछि अर्को मन्त्री परिषद्का बरिष्ठ सदस्यहरूसमेत प्रत्यक्ष रुपमा संलग्न देखिएका छन।

यो काण्ड ठगी, जालसाजी, किर्ते, लुट र मानव बेचबिखनको संगठित अपराध मात्र नभएर नागरिक विरुद्धको, मानवता र राज्यविरुद्धको अक्षम्य अपराध समेत हो। यतिमात्र नभएर यो नेपालप्रति सद्भाव राख्ने अमेरिका जस्तो प्रजातान्त्रिक मित्रराष्ट्रहरु, संयुक्त राष्ट्रसंघप्रतिको धोखा र विश्वासघात हो जसले प्रजातान्त्रिक विश्वमा नेपालको छवि, साख र विश्वसनीयतामा मर्मांतक आघात पारेको छ। यस गंभीर षडयन्त्रमा चिनियाँ कम्युनिष्ट पार्टी/ एमएसएसले पनि चिनियाँ नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदै आइरहेको आशंका समेत गरिएको छ। यदि यस्तो सत्य हो भने अमेरिकाको सुरक्षालाई पनि खतरा पुग्न जानसक्छ। वर्षौंदेखिको यस प्रकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय गम्भीर षड्यन्त्र हुँदा पनि सीआईए, रअ, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग आदि के हेरेर बसिरहेका थिए?

यस अपराधिक कार्यको व्यापक एवं निर्मम छानबिन गरी कुनै पनि पद र तहका अपराधीमाथि कडाभन्दा कडा कारबाही होस् भनी नेपाल डेमोक्रेट युनियन गम्भीर माग गर्दछ। नेपाल र नेपाली विरुद्ध यस्तो जघन्य अपराध गर्नेहरुमाथि निर्मम कारवाही नगरिने हो भने अपराधीका मतियार उच्च राजनीतिक नेतृत्व समेत जनआक्रोशको सिकार हुनुपर्नेछ जसले उनीहरूको राजनीति र संगठन समेतलाई माटोमा मिलाउनेछ भन्ने चेतावनी समेत नेपाल डेमोक्रेट युनियनले दिन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्