थुलुङ दुधकोशी : ईसीडी कक्षाका बालबालिकाको आयआर्जनका लागि वडाले गर्‍यो कुखुरा बितरण



सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ ले विद्यार्थीलाई कुखुरा वितरण गरेको छ । बालबालिकाको आयअर्जनमा टेवा पुर्‍याउने उदेश्यसहित ECD कक्षाका विद्यार्थीलाई उक्त कुखुरा वितरण गरेको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडाले विनियोजन गरेको लक्षित वर्गको बजेटबाट वडाभित्रका ७० जना बालबालिकालाई कोरली कुखुरा बितरण गरिएको हो । बालबालिकालाई विद्यालयमा नियमित गराउन, आयाअर्जनमा वृद्धि गरि बिचैमा कक्षा छोडने र समयमै भर्ना नहुने कार्य रोक्न उक्त कार्य गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

यस वर्ष कुखुरा लाने बालबालिकाले अर्को वर्ष नया भर्ना हुने बालबालिकालाई दिनुपर्ने नीति बनाइएको छ । अन्डाको लागि उपयुक्त हुने जातको कुखुरा रहेको बताइएकाले प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

कुखुरा पाएपछि बालबालिका र अभिभावक हर्षित भएका छन । यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर वृद्धिका लागि थप मद्दत पुग्ने देउराली आधारभुत विद्यालायका प्रधानाध्यापक उत्तम घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्